ट्रेन्डिङ

  • काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

    कात्तिक २२, काठमाडौं । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ ।

    एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ ।

    विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ । अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ ।

    विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो ।

    ५० हजार परिवारलाई २० वर्षका लागि ग्याँस भएको अनुमान

    विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख श्रेष्ठले चालू आर्थिक वर्ष २०७६÷७७ भित्र अन्वेषण कार्यक्रम सकाउने लक्ष्यका साथ कामको तयारी भइरहेको बताए ।

    विभागको अभिलेखअनुसार सन् १९७८ मा नै काठमाडौं उपत्यकामा मिथेन ग्याँस रहेको पत्ता लागेको थियो । सो अध्ययन अनुसन्धान जापानी सहयोग निकाय (जाइका)को सहयोगमा विभागले गरेको थियो ।

    विभागको अभिलेखअनुसार जापानी विशेषज्ञ टोलीले बालकुमारी, शंखमूलसहित भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु हस्पिटल, कुलेश्वर, विष्णुमती किनार, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनमा मिथेन ग्याँस उत्पादन गर्न सकिने भन्दै उत्खननको सिफारिससमेत गरिएको थियो । सो अध्ययन प्रतिवेदनमा उपत्यकामा विभिन्न १४ स्थान ग्याँस छ भन्ने तथ्य सर्वजनिक गरेको भए पनि नेपाल सरकारले उत्खनन गरेर प्रयोगमा भने ल्याउन सकेन ।

    श्रेष्ठले नेपाल सरकारसँग स्रोत साधन नहुँदा उपत्यकामा भएको मिथेन ग्याँस उत्खनन गर्न नसकेको बताए । जमिनको सतहमुनि रहेको मिथेन ग्याँस उत्खनन गर्न ठूलो लगानी, आधुनिक प्रविधिको आवश्यक पर्छ ।

    श्रेष्ठका अनुसार यसअघि जाइकाले गरेको प्राकृतिक ग्याँस अन्वेषण क्षेत्रमा फेरि अन्वेषण गरिदिन सरकारले आग्रह गरेको हो । अन्वेषणको सहयोगका लागि अर्थ मन्त्रालयमार्फत १४ चैत २०७५ मा विभागीय निर्णयअनुसार पत्र पठाइएको थियो ।

    विभागले जाइकाको सहयोगमा तीनवटा बल्क गरी पहिले नै अध्ययन गरिसकेको थियो । सोबेला त्रिपुरेश्वर, कोटेश्वर र मनहरा बल्कमा गरेको थियो । २०३७ सालदेखि २०४५ सम्मका त्रिपुरेश्वर क्षेत्रका सात ठाउँमा गरेको अध्ययनले ४ किलोमिटर क्षेत्रफलमा ८५ मिटर मोटाइमा ३५ प्रतिशत ग्याँस पाएको थियो ।

    त्रिपुरेश्वरमा ३ सय ५ मिटर गहिराइमा ८३.२५ मिटर ग्याँस भेटिएको थियो । त्यसलगतै २०३९÷४० मा टेकु हस्पिटलनजिकै ३ सय १ मिटर ग्रिलिङ गर्दा ८४.४ मिटर ग्याँसको तह पाइएको थियो । सोही वर्ष कुलेश्वरमा ३ सय २ मिटरको गहिराइमा १०२.३८ मिटर ग्याँसको तह पाएको थियो ।

    २०४२÷४३ सालमा गरेको अध्ययनमा ह्युमत ३ सय मिटरभित्र ७४.३४ मिटर ग्याँस भेटिएको थियो । सो वर्षमा ह्युमतकै अर्काे ठाउँमा ४ सय ५४.४ मिटर खन्दा १३४ मिटर ग्याँसको तह भेटिएको थियो । यसैगरी, २०४४÷४५ मा भृकुटीमण्डपमा ५ सय ७०.१३ मिटरमा २१८.३३ मिटर मोटाइ ग्याँस भेटिएको थियो । यसैगरी २०४४÷४५ मै टेकुको मसानमा ३ सय ५८.८ मिटर ग्रिलिङ गर्दा ११३.५१ मिटरमा ग्याँस भेटिएको थियो ।

    दोस्रो चरणअन्तर्गत कोटेश्वर तीनकुने खण्डमा २०४५ सालदेखि २०४९ सालसम्म चार ठाउँमा अन्वेषण गर्दा १४ किलोमिटर वरपर ग्याँस हुन सक्ने अनुमान गरिएको थियो । सो क्षेत्रमा लगभग १४ सय मिटरमा १ सय १९ मिटर मोटाइमा ग्याँस पाइएको थियो ।

    सो अध्ययनको क्रममा २०४५÷४७ सालमा शंखमूलमा ४ सय ५५ मिटर गहिराइमा १७२ मिटर ग्याँस भेटिएको थियो । २०४७÷४८ मा गरेको अन्वेषणमा कोटेश्वरमा ३ सय मिटर ग्रिलिङ गर्दा १ यस १६ मिटरको ग्याँस पाइएको थियो । यसैगरी, सो वर्ष २०४८÷४९ मा जडीबुटीमा गरेको अन्वेषणमा ३ सय मिटर खन्दा ८९.२३ मिटर ग्याँस फेला परेको थियो ।

    यसैगरी, तेस्रो चरणमा विभागले मनहरा–इमाडोल क्षेत्रको ८ किलोमिटर वरपर ग्याँस अन्वेषण गरेको थियो । जसअन्तर्गत टीकाथली ललितपुरमा २०४९÷५० सालमा गरेको मिथेन ग्याँसको अन्वेषणबाट ९५ मिटर ग्याँस भेटिएको अध्ययन प्रतिवेदन उल्लेख छ । यति ग्याँस ३ सय मिटरभित्र नै पाइएको थियो ।

    यसैगरी, सोही वर्ष बालकुमारीमा ३ सय मिटरभित्र ८९.८ मिटर ग्याँस भेटिएको थियो । यसैगरी, इमाडोलमा ३ सय मिटरमा ७० मिटर ग्याँस भेटिएको थियो । सरकारले २०४० सालमा टेकुमा मिथेन ग्याँस प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो ।

    २०७२ सालमा भारतले नेपालमा अघोषित नाकाबन्दी गर्दा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले इमाडोलमा पानीबाट छुट्याएर राखिएको ग्याँसप्लान्टमा जोडिएको चुलोमा आगो बालेर परीक्षण गरेका थिए ।

    स्थान ग्याँसको मोटाइ वर्ष

    त्रिपुरेश्वर ८३.२५ २०३७÷३८
    टेकु ८४.४ २०३९÷४०

    कुलेश्वर १०२.३८ २०३९÷४०
    ह्युमत ७४.३८ २०४२÷४३
    ह्युमत १.३४ २०४२÷४३

    भृकुटीमण्डप २१८.३३ २०४४÷४४
    शंखमूल १७२.४५ २०४५÷४६
    कोटेश्वर ११६.२४ २०४७÷४८
    तिनकुने ९९.१२ २०४८÷४९

    जडीबुटी ८९.१ २०४८÷४९
    टिकाथली ९४.९७ २०४९÷५०
    बालकुमारी ८९.८ २०४९÷५०
    इमाडोल ७०.२४ २०४९÷५०

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको