महरा प्रकरणले सम्झना दिलाएको त्यो दिन

लक्ष्मण घर्ती मगर, असोज २०, २०७६ । कुरो ५८ सालको हो । म तेह्र बर्षको मात्रै थिएँ । तत्कालीन माओवादी पार्टी निकट क्रान्तिकारी विद्यार्थी संगठनको तोल ईकाई समितिको अध्यक्ष पनि थिएँ । केटो मन न हो, एक साँझ १६/१७ र १९/२० बर्ष पुगेका ठुल्दाईहरू तल्लो भान्जाको घरमा आलुको बिउ लिन रन्मा गाउँबाट आएका तरुनीहरूसँग छुटी बस्ने (मगर खाम भाषामा “ढापा चुँन्या”) [रोधि बस्ने] भनेर गएको देखेसी म पनि पछी पछी लागेँ । तँ उमेर नपुगेको नजा भनेर नकराएका हैनन् दाईहरूले, आमाले पनि पार्टीले थाहा पाए लाजमर्दो बनाउला चुप लागेर सुत नभनेका हैन । तर तरुनीहरू हेरेरै छाड्ने मेरो मनोकांक्षा अगाडी कसैको केही लागेन । म जबरजस्ती गएरै छाडेँ !

१६/१७ बर्ष देखी २०/२२ बर्ष सम्मका लाग्ने चार जना हुनुहुँदो रैछ तरुनी जीहरू । हाम्रो आगमनले केही लजालु मुभ्मेन्ट उहाँहरूमा देखिन्थ्यो । एकजनाले हँसिलो र मिठो बोली फुटाउँदै भन्नु भो – आजकालको जमानामा पनि छुटी बस्न हुन्छ र ? फेरी पार्टी ले जुत्तामाला लगाएर घुमाउला नि भेनाहरू….!

त्यो कुराले घरबेटी परीवारहरू लगायत त्यहाँ मौजुत हामी सबैको हाँसो छुट्यो । त्यसैमा घरबेटी भान्जा (बर्ष अनुमानित ५०, राजबहादुर पुन) ले थपे हो नि नानीले सही कुरा गरे, ज़माना गाह्रो छ । हाम्रो पालाको जस्तो सजिलो मनपरी डुल्ने, गीत गाउँने, जिस्किने, छुटी बस्ने कहाँ छ र ! उहाँको कुरा नटुंगिदै हामी मध्यका एक तन्नेरीले ढाडस् दिँदै भने – नडराउँनुस् आज कोही आउँदैनन यहाँ । फेरी हामी भएभरका सबै माओवादी त हो नि ! तर कहीले काहीँ थोरै रमाईलो गर्न त पाउनु पर्यो नि यार ! फेरी यो हाम्रो चलन पनि हो ! (साथीहरू तिर हेर्दै) कि कसो ? तब साथीहरू को एकै स्वर हुन्छ – हो हो..!

बिस्तारै तरुनीहरूलाई हात हाल्ने काम भयो । क्रमश : केटा-केटी-कोटा-केटी गर्दै ‘फ्यारा’ माथी बसे (फ्यारा – बाख्राको ऊनबाट बनेको ठुलो आकारको काम्लो) । मलाई ओँठ निचोरे दुध आउला जस्तो लाग्ने फुच्चे के खोज्न आएको ? आमाको काममा सुत्न जाऊ ! इत्यादि शब्दवाँणले हानेर रेला गरी हाँस्थे । ठुल्दाईको वाकमेन मेरो हातमा थियो । आवाज ठुलो बनाएर बजाउँथे र मलाई गरेको व्यंग्य नसुनेझैँ गरी उदाईदिन्थेँ । जब मैले ठुलो आवाज बनाउँथे तब – हल्ला हुन्छ बाहिर सुनिएला, थाहा पाए झ्याऊ हुन्छ भनेर सानो बनाउँन आग्रह् गर्थे ।

रमाईलो गर्दा गर्दै १२ बजेछ । मलाई निद्राले च्यापेर त्यहीँ फ्यारामा ढलेछु र निदाएछु । राति जाड़ो महशुस भो । ब्युँझिँदा अघिको जस्तो हल्ला थिएन । दियालोको आगो पनि पुरै निभेको थियो । निष्पट अँध्यारो थियो । म कहाँ छु भनि एकछिन अल्मलिएँ । एकछिन पछी नजिकै कानेकुसी गरी बिस्तारै बोलेको मन्दआवाज सुनेँ । अँझ एकछिन पछी भित्र भित्रै खिस्खिस्खिस् हाँसेको अर्को आवाज सुनेँ ।

खासमा ति छुटी बसेका जवान जवानीहरू रात घर्केपछी सबै आ-आफ्नै ठाउँमा जोड़ी जोड़ी भएर सुतेका रहेछन्, दियालो रातभर बालीरहने कुरो नि भएन । तिनै जोडीहरूको अन्तरमुखी खास्खुस्पुर्ण कुराकानी र हाँसो रहेछ , जुन मैले सुनेँ । म अँझै थप त्यही सुतिरहन सकिनँ । अनुमानित रात को ३ बजे तिर हुँदो हो घरबेटी भान्जा सँग एक जोर दियालो मागेँ र त्यसको उज्यालोमा माथी घर पुगेर सुतेँ ।

भोली पल्ट चौँतारामा क्यारेम्बोर्ड खेल्न शुरु भो । धेरै जना भएकोले जोगी खेल खेल्न थालिएको थियो । टीम तिनै थिए जो राति तरुनीहरू सँग कानेकुसी गर्दै खिस्खिस् हाँस्नेहरु । र साथमा स्थानीय माओवादी नेता तथा कार्यकर्ताहरू पनि थिए । यद्दपी ति नेता कार्यकर्ता भने आफ्नै धुनमा कोही पत्रिका पढ्ने, कोही संगीत त कोही राजनैतिक गफमा ब्यस्त थिए । हामी क्यारीमबोर्ड खेल्ने क्रममै एक जना तन्नेरीले अचानक बोली फुस्काईहाले- (मलाई सोध्दै) “ओए हिंजो तँ कतिखेर गईस् ? विहाँन त छैन त केटो !”
नेताहरू त्यतै हुँदाहुँदै उनले त्यो कुरा ननिकाल्नु पर्थ्यो ! मैले कुनै जवाफ नदिँदै, नजिकै बसेको मेरै आमाको भदै (आमाको दाईको छोरा) मामाले ति केटोलाई प्रतिप्रश्न गरे – “हैन तिमीहरू चैँ कता गएका हौ र हिजो राति ?” त्यतिखेर उहाँ बिशेष जिल्ला अन्तर्गतको १ नम्बर एरिया सेक्रेटरी हुनुहुन्थ्यो । उनले स्वभाविक रुपमा यिनीहरू छुटी बस्न गएका हुन कि ? भन्ने सोँच्न सक्दथे ।

उहाँको हर्कत पछी केटाहरू ढगमगाए, अटालिए के जवाफ दिने भन्ने अलमल्ल भो । मैले कुरो सोझ्याएर भनेँ – “तल्लो घरे भान्जाकोमा आलुको बिउ छुटाउँने काम थियो त्यो सहयोग मागेर सबै केटाहरू गएको ।” तर ति बाठा मामाले मेरो अनुहारको सत्यता क्षणभरमै पढेछन् क्यार ! विश्वास गर्नु भएन । मेरो र ति केटोको कान समातेर दुवैलाई खिच्नु भो र भन्नु भो – “तिमीहरू झुट नबोल् साँचो कुरा भन् हिजो छुटी बसेको होईन ? “ यत्तिकैमा वरपरका अरु कार्यकर्ता सबै जम्मा भए । अब पिटाईँ खाने भईयो भन्ने सोँचेँ । अन्तत हामीले साँचों कुरा बतायौँ । मैले म आफु छुटी नबसेको र एकछिन सुतेर घर फर्केको कुरा गरेँ । जवाफमा “ तैपनि किन गएको ? भन्ने प्रश्न आयो । त्यो मेरो गल्ति भो भनेँ ।

हामीले गल्ति स्वीकारे पछी मलाई स्यानो उमेरको भनेर १० पटक कान समाएर उठबस् गर्न लगाए । मैलेँ त्यसै गरेँ । र अब यस्तो गर्दैन भन् भने म त्यसै भनेँ । यति भनेपछी मेरो कार्वाही सकियो । मलाई छाडे । अरु ६ जना दाईहरूलाई १ / १ हप्ताको श्रम शिविरमा हिड्ने अनि बल्ल कार्वाही सकिने फैसला भो । उनिहरू त्यही दिनबाट कार्वाही भोग्न तयार भए र हिडे त्यो दण्ड काट्न । म भने उनिहरूको घरघरमा पुगेर पार्टीले कार्यवाही गरेर १ हप्ताको लागी साथै लगेको खबर बुबाआमालाई पुर्याईदिएँ ।

अहिले निवर्तमान सभामुख तथा तत्कालीन माओबादीका चर्चित नेता कृष्ण बहादुर महरालाई बलात्कार प्रयासको अभियोग लागेको छ, केही बर्ष अघि अर्का नेता हेमन्त प्रकाश ओली (सुदर्शन) पनि यौन काण्डकै कारण कार्वाहीमा परे । प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहाल पनि बहुविवाह काण्डमै कार्वाही परे । अझै बाहीर आएका र नआएका कयौँ त्यस्ता घटनाहरू छन् जस्ले माओवादी पार्टी र १० बर्षे जनयुद्धको ईतिहाँसलाई गिज्याईरहेको छ । त्यतिखेर हामीले गम्भीर अपराध गरेझैँ लाग्थ्यो, तर अहिले त्यही सिद्दान्त र व्यवस्थाका हस्तिहरू आफै पालैपालो यो कठघरामा आईरहँदा ति हाम्रा पुराना गल्तिहरु खासै ठुला होइनन् जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको