दशैंमा चामल अभाव, सर्वसाधारण चिन्तित

असोज १६, सिमकोट । दशैंको मुखमा २ वटा डिपो र ३ वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका ५ गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैं खल्लो हुने भएको छ ।

chamal

जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ ।

चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी ५ गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताए । नेपालीको महान् पर्व दशैंमा चामल नपुगेपनि तिहारसम्ममा पुर्‍याउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

गत असारको अन्तिम सातादेखि दक्षिणी क्षेत्रमा रहेका २ वटा डिपो र ३ वटा बिक्री केन्द्रमा चामल नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए । उनका अनुसार स्थानीय सरकारले स्थल मार्गबाट चामल ढुवानी गर्ने भने पनि नेपाल खाद्य संस्थानले टेन्डर प्रक्रिया ढिलो गर्दा यो दशैंमा चामल नपुगेको हो ।

यो वर्ष चामल नहुँदा दशैं खल्लो हुने निश्चित भएको स्थानीय भक्तराज ऐडीले गुनासो गरे । अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भए पनि चामल नहुँदा त्यहाँका स्थानीयले यो वर्षको दशैं भातविना मनाउने भएका छन् ।

दशैंसम्ममा चामल पुग्छ भनेर कर्मचारी तयारी अवस्था रहेपनि चामल नपुग्ने निश्चित भएपछि २ वटा डिपोका कर्मचारी पनि दशैं मनाउन घर गएका छन् । ठेकेदारले यही असोज ८ गते टेण्डर प्रक्रिया सम्झौता गरी तिहारसम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको संस्थान प्रमुख विष्टले बताए ।

खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेको भन्दै दशैंमा चामल पुर्‍याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार यस वर्षको टेन्डर प्रक्रिया नै ढिला भएकाले कसैलाई पनि यस वर्षको दशैंमा चामल पुर्‍याउन सकिएको छैन ।

सिमकोटमा १६ सय क्विन्टल मौज्दात, याल्वाङमा १५ सय क्विन्टल बाँडियो

सधैं दशैंमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा यो वर्ष खाद्यान्न मौजात प्रशस्त रहेको छ । काठमाडौं, केरुङ हुँदै सिमकोट पुगेको ६०० क्विन्टल र स्थानीयलाई वितरण गरी बाँकी रहेको १ हजार क्विन्टल चामल गरी १६ सय क्विन्टल मौज्दात रहेको खाद्य संस्थान प्रमुख विष्टले बताए ।

गत वर्ष संस्थान शाखा हुम्लाले एक घरधुरीलाई ३ केजीका दरले चामल वितरण गरेको थियो । त्यसैअनुरूप विभिन्न निकायको सहकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्य संस्थानको गोदाममा एक हजार ६०० क्विन्टल चामल मौज्दात रहेको विष्टले बताए ।

उता केरुङ नाका हुँदै सिमकोट आउँदै गरेको ४ हजार क्विन्टल चामलमध्ये ६०० क्विन्टल संस्थान शाखामा भित्रिएको छ भने बाँकी रहेको ३ हजार ४०० क्विन्टल चामल सल्लीखोलामा रहेको चौकीदार अखिल रोकायाले जानकारी दिए ।

केरुङ हुँदै गाडीमार्फत याल्वाङमा पुगेको १ हजार ५०० सय क्विन्टल चामल याल्वाङ बिक्री केन्द्रमार्फत वितरण गरिसकिएको छ । सिमकोट खाद्य संस्थानका लागि गाडीबाट हिल्सा हुँदै सल्लीखोला पुगेको चामल वर्षातले सडक ठाउँठाउँमा भत्केका कारण ढुवानी कार्य रोकिएको ठेकेदार ध्रुव शाहीले बताए । – दाने बोहरा/रासस

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको